परम्परागत होली पछ्याउँदै राना थारू समुदाय



महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन् ।

गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उनलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् ।


सोहीअनुसार चालु वर्षका लागि सुन्दरपुरमा राना बस्तीको चाकर चुनिएका रामस्वरुप रानाले होलीलाई घर–घर पुर्याइरहेका छन् । “चाकर चुनिएपछि घरघरमा पुगेर होली खेल्ने विषयमा बताउने र खेलाउने काममा व्यस्त छु”, रानाले भने, “हाम्रो समुदायमा पूर्णिमादेखि सात दिनसम्म होली खेल्ने प्रचलन छ ।”

होली खकडेरा पर्व मनाएर विर्सजन गर्ने प्रचलन रहेको उनले बताए । केही दशकअघिसम्म खकडेरा पर्वपछि पनि महिना दिनसम्म होली खेल्ने प्रचलन थियो । त्यो अहिले हट्दै गएको छ । “होलीबाट सुन्दरपुरमा हामीले ४०–५० हजार सङ्कलन गरेका छौँ”, उनले भने, “सङ्कलित रकम धार्मिककार्यमै खर्च गर्छौँ ।”

उनले परम्रागत पहिरन लगाएर सबै उमेर समूहका नागरिकले होली खेल्ने गरेको बताए । “होली खेल्ने क्रममा घरमा पुगेकाहरूलाई भोजन गराउने प्रचलन पनि छ”, उनले भने, “खेल्नेलाई मिष्ठान भोजन गराएर बिदा दिने प्रचलन पनि छ ।”

उनले राना समुदायको नयाँ पुस्ता परम्परागत होली पछ्याउँदै गइरहेको बताए । “युवायुवती नै होलीमा निकै सक्रिय भएर खेलिरहेका छन्”, उनले भने, “होली पुस्ता हस्तान्तरण पनि हुँदैछ ।” होलीमा भगवान् श्रीकृष्ण, राम र शिवको लीलाको समेत गीतमार्फत चर्चा गर्ने गरिएको छ ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायको बस्तीमा यतिबेला होलीको रौनक छाएको छ । आफ्नो समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि यो समुदायले होली खेल्ने गरेको स्थानीय बताउँछन् ।

त्यसैगरी बेदकोट नगरपालिका–६ सिसैयाका भोजराज रानाले थारू समुदायले जिउँदो र मरेको गरी दुई किसिमको होली मनाउने गरेको बताए । राना समुदायले ३० दिनसम्म (जिउँदो) होली र फागू पूर्णिमादेखि आठ दिनसम्म मरी होली (मरेको होली) चल्ने गरेको उनले बताए । फागू पूर्णिमाका दिन जलाइएको होलीको खरानीको टीका लगाउने प्रचलन छ ।

होलीको टीका लगाएको दिनदेखि राना समुदायको मरी होली सुरु हुन्छ । यो होली यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । थारू समुदायले सबैभन्दा ठूलो पर्व होलीलाई लिँदै आफ्नो भाषामा नाचगान र पहिरन लगाएर गाउँगाउँमा गएर रमाउने चलन छ ।

होलीपर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान खाने गरेको सम्बन्धित समुदाय बताउँछन् । होलीपर्वको राना थारू समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारूले होरी पर्व मनाउँछन् ।

यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अगाल्ने जनविश्वाससमेत रहेको छ । युवायुवतीले रातिको समयमा होली नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ ।

राना थारूले होलीपर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम छ । होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराइ गरेर विसर्जन गरेपछि विधिवत रूपले होरीपर्वको समापन हुने गर्दछ ।

भीमदत्त नगरपालिका–१४ स्थित राना थारू सामुदायिक घरबास (होमस्टे)का सचिव चेतराम रानाले मरी होलीको रौनकता बढेको बताए । “एक महिनासम्म खेल्ने गरेको जिउँदो होली खेल्ने क्रम हटिरहेको छ”, उनले भने, “समय क्रमअनुसार यो होलीको प्रभाव घट्दै गयो ।”