काठमाडौं । रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक जवना विराटनगरबाट पक्राउ परेका छन् । झापाका एक सय जनाभन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने मोरङ पोखरीया घर भएका सञ्जय सरदारलाई प्रहरीले शनिबार साँझ विराटनगरबाट पक्राउ गरेको हो ।
सरदारले झापा कनकाई नगरपालिका–३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ ।
सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौं रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी परेको छ ।
आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम लिएर सरदार साउन महिनादेखि बेपत्ता भएपछि पीडितहरु प्रहरीकहाँ पुगेका थिए । सरदारले पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ ।
उनलाई विशेष सुराकीको आधारमा पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।