भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन् ।

एक साता लामो चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको दाबी गरे ।


‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँग छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ।’

गत भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड असोज ६ गते एक साताको औपचारिक भ्रमणका लागि चीन पुगेका थिए । उनले सोही दिन चीनका राष्ट्रपति सी जिनपीङ सँग र भोलीपल्ट समकक्षी ली छियाङ सँग दुइपक्षीय भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा १२ वटा सम्झौता र एक समझदारी भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । वार्ताको क्रममा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए ।