एशियन गेम्समा पब्जीबाट पनि पदक आशा समाप्त, सेमिफाइनलबाट बाहिरियो नेपाली टिम



काठमाडौँ । १९औँ एशियन गेम्समा पदकको आशा गरिएको इस्पोर्ट्सको पिस एलिटको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलबाट बाहिरिएको छ । 

शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो ।


यो समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भएका छन् भने नेपाल तेस्रो हुदै बाहिरिएको छ भने जापान चौथो भएको छ ।

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए ।

यसअघि हिजो भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

यससँगै अब नेपालको इस्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ । डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ ।

जारी एशियन गेम्समा नेपालको निराशाजनक प्रदर्शन रहेको बेला पदक आशा गरिएको पब्जीबाट पनि आशा समाप्त भएको छ ।