काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्व लिदा सत्ता गठबन्धनसँग लेनदेन नभएको बताएका छन् ।
साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व पाएको विषयलाई कोशी प्रदेश सरकारमा जाने विषयसँग जोडिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गरेका छन् ।
उनले भने- ‘संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति भएको छैन । कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले तोकरै सभामुख र एउटा मन्त्री लिने भयो भनेर राप्रपाले र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट हो ।’
अध्यक्ष लिङ्देनले राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने बताउदै सुरुको गठबन्धनताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको बताए । साथै उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीकै अफर आएको समेत दाबी गरे ।