यु-२० महिला एसियन कप : नेपाल चीनसँग ५-० गोलले पराजित



काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबल दोस्रो चरणको छनोट प्रतियोगितामा चीनसँग नेपाली टोली पराजित भएको छ । बिहीबार म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५-० गोलले पराजित गरेको हो ।

छनोट खेलमा नेपालको यो दोस्रो पराजय हो । यसअघि पहिलो खेलमा नेपाली टोलीलाई आयोजक म्यानमारले ५-० गोलले पराजित गरेको थियो । म्यान्मारको याङ्गोनमा आज भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।


चीनका लागि खेलको १६औं मिनेटमा युयाङ् युह्यानले पहिलो गोल गरिन् । भने २६औँ मिनेटमा ह्यु युछिनले दोस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा यिन लिहाङले तेस्रो गोल गरिन् ।

पहिलो हाफकै इन्जुरी समयको पाँचौं मिनेटमा लु जुआयुले चौथो गोल गरिन् । निर्धारित समयको ८९औं मिनेटमा यु जिआक्वीले चीनका लागि पाँचौं गोल गरिन् । यससँगै जारी छनोट प्रतियोगिताका लागि चीनको लगातार दोस्रो जित बन्यो । तीनले यसअघि आफ्नो पहिलो खेलमा ताइपेलाई १–० गोलले पराजित गरेको थियो ।

छनोट प्रतियोगितामा अब नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।