सुनकोसी मरिण डाइभर्सन : तयार भयो १३ किलोमिटर लामो सुरुङ, आज ‘ब्रेक थु’



काठमाडौं । राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज बे्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा स्विच थिचेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

नेपालको कृषि क्षेत्रमा भरपर्दो सिँचाइ, विद्युत् उत्पादन तथा तराई मधेशका जिल्लाहरूमा बढ्दो खानेपानीको समस्याको समाधान गर्नमा आयोजनाको निर्माणले ठूलो मद्दत पुग्ने विश्वास आयोजनाको लाभान्वित क्षेत्रका स्थानीय बासीको रहेको छ । अहिले बागमती सिँचाइ योजनाले सर्लाही तथा रौतहट जिल्लाका ४५ हजार ६०० सय हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ गर्ने गरिएको छ ।


आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका १ लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा बाह्रै महिना सिँचाइ सेवा पुग्ने भएको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए। मधेश प्रदेशको कृषि क्षेत्रका लागि बरदान मानिएका आयोजनाको सम्पूर्ण कार्य पुरा गर्नमा अझै केही वर्ष लाग्ने छ ।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) विधिको प्रयोग गरेर गरिएको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई गति दिने काम भएको छ । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ ।

तर बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकिएको छैन । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं। २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेश प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।

बहुउद्देश्यीय आयोजना भएकाले आयोजनाबाट ३१.७ मेगावाट बिजुली उत्पादन हुनेछ । यसले देशको आर्थिक विकासमा टेवा पुग्ने आशा आयोजनाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here