विपक्षी दलको बैठक सिंहदरबारमा जारी : राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही उपस्थित छन् । भने जसपा नेपालबाट उपेन्द्र यादव र राजकिशोर यादव छन् । यसैबीच बैठकमा आउन देउवाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि निम्ता गरेका थिए ।


पछिल्लो समय सत्तारुढ दलकै नेता भएपनि नेपालको व्यवहार सत्तारुढ दल कम विपक्षी नेता ज्यादा देखिँदै आएको थियो । तर, आज भने देउवाको निम्तो नेपालले अस्वीकार गरेका छन् । उनी सहभागी भएका छैनन् ।

कांग्रेसले सहरकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्दै आएको छ । सत्तापक्ष उक्त मागमा सहमत नहुँदा प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । यही तनावका बीच बिहीबारको संसद बैठकमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनको लागि कांग्रेसका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मोटामोटी सहमति भैसकेको थियो । तर, अन्तिममा त्यो सहमति भाँडिएको छ । हिजोको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि कांग्रेसको मागबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी गरेका थिए ।

त्यसको लागि गृहमन्त्री रवि लामिछानेलाई पनि उनले कन्भिन्स गरेका थिए । छानबिन समितिको लागि कस्तो मस्यौदा तयार पार्ने भन्नेबारे कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्ले खटिएका थिए । दुवै नेताले आ–आफ्नो तर्फबाट मस्यौदा तयार पारेका थिए । तर, कांग्रेस र रास्वपा एक अर्काको मस्यौदाप्रति सहमति हुन सकेनन् ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, अहिलेसम्म बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ। सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसैक्रममा बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो ।