ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या



काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रको एकमात्र रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भाडाको घरमा रहेकाले एक्सरे र फार्मेसी सेवा सञ्चालनका लागि ठाउँको अभाव भएको छ । एक्सरे यन्त्र राख्न नौ इञ्च गारोसहितको भवन आवश्यक पर्नेमा सो नहुँदा सेवा दिन समस्या भएको हो ।

यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो । पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो । पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ ।


करबाहेक केन्द्र मासिक ८५ हजार भाडा तिरेर सञ्चालन भइरहेको केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा सुनिता लम्सालले राससलाई जानकारी दिए । स्थान अभावका कारण एक्स–रे र फार्मेसी सेवा सञ्चालन हुन नसकेको भन्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाएको ५० शुल्कबाहेक अरु सबै सेवा निःशुल्क दिने गरिएको उनले बताए ।

केन्द्रमा हाल दैनिक ५० देखि ६० जनासम्म बिरामी आउने गरेका प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार केन्द्रमा हाल १३ को स्वीकृत दरबन्दी भए पनि स्थायी पाँच र करारका पाँच गरी १० जना स्वास्थ्यकर्मी एवं कर्मचारी कार्यरत छन् ।

जनशक्ति पूरा नभएकाले कहिलेकाहीँ बेलुकी ८ बजेसम्म पनि काम गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको गुनासो छ । केन्द्रमा हाल बहिरङ्ग, प्रयोगशाला, इसिजी, खोप सेवा, डट्स, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत सेवा दिने गरिएको छ ।