राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । साथै, प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतुत गरिदिनका लागि निमन्त्रणसमेत दिएका छन् ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरिरहेको छ । सत्तारुढ दलहरु भने अहिले व्यक्तिलक्षित छानविन समिति बनाउन नहुने पक्षमा छन् ।

छानविन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने कांग्रेस संसदीय दलको निर्णय छ । कांग्रेसले आफ्नो अडान कायमै राखे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिनसमेत अवरोध हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here