मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियोः झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी नेता खनालले केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका बताएका हुन् ।

उनले भनेका छन्, ‘केही दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’


उनले पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बन्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिष्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसै कारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किइसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दैछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here