भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान



पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो।

यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार रुपैयाँ अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए। सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन्।


गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई चार लाख रुपैयाँ अनुदान वितरण गरेको छ। गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए।

यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो। पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन्।

अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ। राँगापालक किसानलाई चार लाख रुपैयाँ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here