‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण



म्याग्दी । म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो । 

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६ र मंगला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिए । 


चालु आर्थिक वर्ष २०८०-८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भीरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । 

यसअघि आव २०७७-७८ र आव २०७८-७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु नौ लाख बजेटबाट १.५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।  

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ । 

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here