बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)



काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी हुनेमा तुलसी नारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, सुमन शाक्य, कृष्ण शंकर शाह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्ड राज प्रधान, रामकाजी कोने र  योगेन्द्र बहादुर शाही छन् ।


दिपक दास श्रेष्ठ, चिरञ्जिवि तिवारी, प्रविण राज जोशी, मुरारी निधी तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा सेढाईं, अमिन सिंहानिया, सिद्धार्थ केडीया र किर्ति प्रसाद पाण्डेविरुद्ध पनि पक्राउ अनुमति आएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ । 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ । 

वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here