बाँकेको फत्तेपुरका एक सय २६ घरमा धारा जडान



बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन्।

उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए।


‘गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्‍याएका छौं,’ अध्यक्ष थापाले भने, ‘यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्‍याउने लक्ष्य छ।’

आर्थिक वर्ष २०७६/७७ देखि उक्त कार्यक्रम लागू भएको हो। वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो। तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्यांकी, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए।

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई रु एक सय ५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट रु २० का दरले शुल्क लिने गरिएको छ। घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्।

राप्ती सोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ। राप्ती सोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ। ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारुले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here