बन्धक रिहाइको माग गर्दै इजरायलीहरुको प्रदर्शन



बीबीसी । इजरायलीहरुले युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका छन् । तेल अभिभमा प्रदर्शनमा उत्रिएकाहरूले ‘युद्ध होइन जीवन पवित्र हो’ भन्दै नारा लगाएका थिए ।

कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध लम्ब्याउन चाहेको आरोप समेत लगाए । बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी काएरोमा इजरायल र हमासबीच शान्ति वार्ता सुरु भएको छ ।


शनिबार सुरु भएको वार्तामा उल्लेख्य नयाँ प्रगति नभएको तर आइतबार नयाँ चरणको वार्ता जारी रहने एक जना हमासका अधिकारीले बताएका छन् । यसअघि हमासका अर्का एकजना अधिकारीले गाजामा दिगो युद्ध अन्त्य गर्ने बाहेकका कुनै पनि प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने बताएका थिए ।

तर पछिल्लो वार्ता सम्बन्ध प्रस्ताव प्राप्त भएपछि आफूहरूको वार्ता टोली सकारात्मक भावका साथ काएरो प्रस्थान गरेको हमासले बताएको थियो । अर्कोतर्फ, इजरायल सरकारले सहमति भए वा नभए पनि रफाह सहरमा आक्रमण गर्ने आफ्नो योजनालाई अघि बढाउने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त लडाकू समूहले युद्धविरामका लागि धेरै सोच्न नपर्ने बताएका छन् ।

वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ । अक्टोबर ७ मा हमासले कडा अवरोध तोडेर गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here