बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री



बेदकोट (कञ्चनपुर) । कञ्चनपुरस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरू यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् ।


कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका छन् । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्ने गर्छन् ।

‘बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ’, रामकृष्णले भने, ‘दैनिक तीन/चार हजारको बिक्री हुन्छ ।’

उनका अनुसार चैतदेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।

‘गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ’, उनले भने, ‘यो सिजनमा राम्रो आम्दानी हुन्छ ।’ वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन् । उनले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन् ।

‘आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट ३० मा प्रतिकिलोग्राम किनेर ५० मा बेच्दैछौँ’, उनले भने, ‘केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ ।’

वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्षपीडित छन् । ‘सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ’, सालिकराम भन्छन्, ‘अहिले बगरमा भारतीय छैनन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here