पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल



काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष डा.बेदुराम भुसालले पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् । सोमबार संसदीय दलको बैठकबिचमै बाहिरिएका भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो दलभित्र कुनै अन्तर्विरोध नभएको दाबी गरेका हुन् ।

बाहिर आएका हल्लामा कुनै सत्यता नभएको उनको भनाइ छ ।  ‘हाम्रो भित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो । बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’, उनले भने ।  उनले बैठकमा जसपाको विभाजन सम्बन्धमा कुनै समीक्षा भएको भन्दै उनले आगामी अधिवेशनमा कसरी जाने विषयमा छलफल भएको बताए । 


यद्यपि जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको उनले स्वीकारे ।  ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐन अन्तर्गत जाने हो कुनै टुङ्गो छैन ? नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’, जसपाको अवस्थाबारे भुसालले भने ।  

तथापि जसपा विभाजनको मुख्य कारण अन्तर्विरोध  भएको हुनसक्ने अनुमान गरे । पहिले देखि नै देखिएको अन्तर्विरोध अहिले प्रकट भएको र त्यसमा बाहिरी शक्तिको प्रभाव पनि भएको हुनसक्ने उनले बताए । यस्तै वैकल्पिक समीकरण बनाउने कुरा हल्ला मात्र भन्दै उनले देउवा, माधव र उपेन्द्रबिच छलफल भएको विषयमा तस्बिर सार्वजनिक गर्न चुनौती दिए ।

आइतबार जसपा विभाजन भएपछि त्यसको असर एकीकृत समाजवादीमा पर्न सक्ने अनुमानबिच उनले बैठकबारे जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here