नेपाल र जापानका परराष्ट्र मन्त्रीबीच भेटवार्ता



काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।


भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए । “दुबै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे ।

विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकि थिइन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेकि थिइन् ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here