तनहुँमा बाह्र वटा साना योजना सम्पन्न



तनहुँ । सामाजिक विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गरेका ४७ योजनामध्ये १२ योजना सम्पन्न भएका छन् ।

कूल योजनामध्ये ३२ वटा योजना सम्झौता भएका थिए । सम्पन्न भएका योजनाको भुक्तानी भइसकेको छ । बाँकी १५ वटा योजना सम्झौता हुन बाँकी रहेको सामाजिक विकास कार्यालय प्रमुख विक्रम सुवेदीले जानकारी दिए । उनका अनुसार वार्षिक योजनाअन्तर्गत १४ र राष्ट्रिय खेलकूद परिषदका एक गरी १५ योजना सम्झौता हुन बाँकी छन् ।


सम्पन्न भएका योजनाअन्तर्गत विद्यालय, मन्दिर, सामुदायिक भवन, धार्मिक, सांस्कृतिक र खेलकूद क्षेत्रका पूर्वाधार मर्मत तथा निर्माण गरिएको छ । त्यसैगरी विपद्जन्य घटनाका कारण विद्यालयमा पुगेको क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन शैक्षिक कार्यक्रमअन्तर्गत सात वटा योजना सम्झौता भई निर्माण प्रक्रियामा छ ।

त्यसैगरी राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत दुई योजनामध्ये एउटा सम्झौता भई काम सुरु भएको र एउटा सम्झौता हुन बाँकी रहेको उनले बताए । कार्यालयको पूँजीगततर्फ रु पाँच करोड ७५ लाख बजेट रहेको छ । व्यास–१ निर्मल माध्यमिक विद्यालयको भवन तथा प्रयोगशाला निर्माणका लागि रु तीन करोड बजेट विनियोजन भई निर्माण भइरहेको छ ।

कूल बजेटको करिब ५२ प्रतिशत बजेट उक्त विद्यालयको संरचना निर्माणमा खर्च भएको उनले बताए । चालु आवमा काम सम्पन्न गर्न अधिकारी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । हालसम्म उक्त भवनको ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीका प्रोपाइटर पङ्कज अधिकारीले जानकारी दिए । चालुतर्फ जिल्लामा र ७५ लाख बजेट विनियोजन भएको सो कार्यालयले जनाएको छ ।