खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्नुपर्ने बताएका छन् ।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बिु ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक (वेल) ड्रिलिङ कार्यको समुद्घाटन कार्यक्रममा आज उनले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रुपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने बताएका हुन् ।


‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरु पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरुको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने संकल्पमा हामी अडिग छौँ, यस काममा नेपाल र चीनबीचको साझेदारीले सीमाना र विविधताभन्दा माथि उठेर मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि र प्रगतिका लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास मैले लिएको छु,’– उनले भने ।

उनले जमिन मुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खननले राष्ट्रको समृद्धिको रेखा कोर्ने बताए । ‘यी स्रोतहरुको अन्वेषणले हाम्रो उर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरु पनि प्रस्तुत गर्नेछ,’– उनले भने ।

मन्त्री भण्डारीले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्व खोज तथा अनुसन्धानले देखाएको बताए । ‘अहिलेको यस परियोजनामार्फत पनि गरिएका सर्फेस जियोलोजिकल, सेस्मिक तथा म्यग्रेटोटेलुरिक सर्वे तथा टोटल अर्गानिक कार्बनको परीक्षणबाट आएका नतिजाहरुले यसलाई थप पुष्टि गरेको मैले जानकारी पाएको छु । आज थालनी हुन लागेको यस ड्रिलिङले पेट्रोलियम पदार्थको एउटा असल भण्डार फेला पर्न सकोस भन्ने कामनासमेत गर्दछु,’– उनले भने ।

यस्तै, उनले नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकार अग्रसर रहेको बताए । आन्तरिक तथा बाह्य लगानीकर्ताका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको उनको भनाइ छ । उद्योग, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई प्राथमिकतामा राखिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here