कांग्रेस–एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन : रमेश लेखक



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।  बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

‘एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन । तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ’ लेखकले भने, ‘साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ, एमाले, कांग्रेसमा पनि छ । तर अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन ।’


उनले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए  । 

लेखकले टेकबहादुर गुरुङबारे वैधानिक परीक्षण हुने बताउँदै त्यसबारे अहिले धेरै नबोल्ने बताए । उनले सहकारीको पैसा अपचलन भएको बारे समग्रतामा छानबिन गरेर जान आफूहरू तयार रहेको बताए ।

लेखकले भने,‘सहकारीको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उहाँमाथि छानबिन गर्नुपर्छ भन्नेमा हामी अडिग छौँ । अहिले एउटा कन्फ्युजन भएको छ, हामीले मन्त्रीजीको विषय मात्रै उठाएको भन्ने परेको छ, हामी समग्र सहकारीको विषयमा कुरा उठाएका हौँ ।’ 

अर्को प्रसङ्गमा लेखकले पार्टी प्रतिपक्षमा बस्दा पनि विधेयक निर्माणको कामले गति लिन नसकेको बताए । उनले सरकारमा बस्दा पनि विधेयक निर्माणको काममा कमजोरी भएको बताउँदै अहिले पनि गति लिन नसकेको बताए । 

लेखकले भने, ‘संसद्को प्रभावकारिता हुन सकेन । यो हाम्रो व्यवस्थामै जटिलता थप्ने विषय हो । सांसदहरूको उपस्थिति कमीले कहिले गणपूरक सङ्ख्या पनि पुग्ने गरेको छैन । संसद्लाई काम दिने सरकारले हो, संसद्प्रतिको जबाफदेही पनि सरकार नै हो ।’ 

सचेतक लेखकले अहिलेको संसदीय प्रणालीमा संसद्‌मा सरकारको बहुमत हुने बताउँदै प्रतिपक्षीले भनेको सामान्य कुरा पनि सरकारले नटेर्ने अवस्था रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here