उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिकको सेवासुविधा बढ्छ : मुख्यमन्त्री अधिकारी



लेखनाथ (कास्की) । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग व्यवसाय फस्टाउन सकेमात्र रोजगारी प्राप्ति र श्रमिक अधिकार स्थापित हुनसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको उद्योग व्यवसाय बिस्तारै लयमा फर्कन थालेकाले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिकको समन्वयमा अगाडि बढ्न सकिने बताए ।


श्रमिकका लागि संविधानले दिएका अधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार तयार रहेको जनाउँदै मुख्यमन्त्री अधिकारीले राष्ट्रिय रुपमा पूँजी वृद्धि गर्न श्रमिमको भूमिका महत्वपूर्ण रहेको बताए ।

“स्वदेशमै रोजगारी सृजना गरी नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न गण्डकी प्रदेश सरकार रोजगारदासँग सहकार्य गरी सँगसँगै अगाडि बढ्न तयार छ”, मुख्यमन्त्री अधिकारीले भने, “पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।” समृद्ध प्रदेश बनाउने कार्यमा आफू जुटेको जनाउँदै मुख्यमन्त्री अधिकारीले स्वरोजगारका कार्यक्रम अगाडि ल्याएर भए पनि युवालाइै स्वदेशमा नै पसिना बगाउने वातावरण आफूले सृजना गर्ने बताए ।

देशमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा श्रमिक वर्गको भूमिकालाई बिर्सन नसकिने जनाउँदै मुख्यमन्त्री अधिकारीले श्रमिकका लागि संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफू सदैव तयार रहने बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले श्रमिकका मुद्दालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाउँदै श्रमिकका माग सुनुवाइ हुन आवश्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरको सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्न सरकार र राजनीतिक दलहरु तयार हुनुपर्नेमा जोड दिए । साथै उनले समान काममा पनि लैङ्गिक विभेदका आधारमा ज्याला फरक हुने गरेको बताए ।

मजदुर नेता मुरारी शर्माले श्रमिकले श्रमिक दिवस आन्दोलनका रुपमा नभई उत्सवका रुपमा मनाउन पाउनुपर्नेमा जोड दिए । साथै उनले मजदुरहरु हरेक दिन असुरक्षित हुँदै गएको जनाउँदै श्रम आयोग गठन गरी उनीरुको अधिकार स्थापित गर्नुपर्ने बताए ।

मजदुर नेता रुद्र खत्रीले दिन प्रतिदिन महँगी बढ्दा मजदुरको दैनिकी कष्टपूर्ण हुँदै गएको जनाउँदै सरकारले महँगी नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिए । यसअघि श्रमिकहरु पोखराको बसपार्कबाट श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, महँगी नियन्त्रण गर्, श्रमिक आयोग गठन गर्जस्ता प्ले कार्डसहित ¥यालीमा सहभागी हुँदै सृजना चोकमा पुगी सभामा परिणत भएको थियो ।