उद्यमी बन्ने बाटोमा जैमिनीका किसान



बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो ।

उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ । पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन ।


आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको र सिस्नोको धुलो विदेश निर्यात हुन्छ । नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य वस्तु बनाउन सिकाएको छ । नगरले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको छ ।

स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको उपप्रमुख हरिहर शर्मा बताउँछन् । दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राई चिउरा बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो । त्यसपछि दमेकबासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन् ।

“ एक सय ५० मा बिक्री हुने आलुको एक हजार पर्ने गरी चिप्स बन्छ, किसानलाई धेरै फाइदा भएको छ”, वडाध्यक्ष कृष्णबहादुर भुजेलले भने, “हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन् जसको आम्दानीले खर्च चलेको छ ।” गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम जैमिनीमा सञ्चालित छ । त्यसले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताए ।

उद्यमशीलताको विकासका लागि जैमिनीले लगानी गर्ने उनको धारणा थियो । कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सीपलाई नागरिकले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । स्थानीय स्रोत र साधनको परिचालन गरी रोजगारी सिर्जना गर्ने तथा किसानलाई आत्मनिर्भर गराई आम्दानी बढाउनका लागि सबैसँग सहकार्य गर्ने वडाध्यक्ष भुजेल बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here