इच्छाकामनामा ‘कोल्डड्रिंक्स’ निषेध, पाहुनालाई मोहीले स्वागत



चितवनको इच्छाकामना गाउँपालिकाले पालिका कार्यालयमा ‘कोल्डड्रिंक्स’ निषेध गरेको छ। स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्ताे निर्णय गरेको हो।

अहिले गाउँपालिकाकाे कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गर्ने गरिएकाे छ।


इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए। उनले भने ‘गर्मीमा प्रयोग गरिने ‘कोल्डड्रिंक्स’ भन्दा दही र मोही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले यस्ताे सुरुवात गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ।’

अध्यक्ष गुरुङले गाउँपालिका अन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए। गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्डड्रिङ्स निषेध गरेको थियाे। अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए।

यसैबीच गाउँपालिकाले पशु सुत्केरी सुधार र बीमा कार्यक्रम समेत सञ्चालन गरेको छ। किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले जनाए।

आन्तरिक स्रोतमार्फत गाई भैँसीको नस्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो। कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाई भैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार पाँच सय उपलब्ध गराउने छ।

बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here