काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ ।
जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सँुगुर जलेर नष्ट भएका थिए ।