ओलीको राजनीतिक प्रतिवेदन- कांग्रेससँग प्रश्न गर्ने नैतिक आधार छैन



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा हतास देखिएको बताएका छन्। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले कांग्रेस प्रतिशोधको राजनीतिमा पुगेको आरोप लगाए।

कांग्रेसले एमाले-माओवादी नेतृत्वको गठबन्धन भत्काउन रास्वपालगायत केही दलहरूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेको दाबी ओलीको छ। तर, प्रस्ताव अस्वीकार गरिएपछि कांग्रेस हतास मनस्थितिमा पुगेर सदन अवरोध गर्न पुगेको ओलीको आरोप छ।


‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ। यही हतासले उसलाई प्रतिशोधको राजनीतिमा पुऱ्याएको छ। फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्‍यो। त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्‍यो। तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ। यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसंगत आधार छैनन्,’ ओलीले प्रस्तुत गरेको प्रतिवदेनमा भनिएको छ। 

अध्यक्ष ओलीले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका आफ्नै मन्त्री र नेतालाई कारबाही गर्न नसकेको कांग्रेसले अरुमाथि प्रश्न उठाउने नैतिक आधार नेरहेको बताए। उनले गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको बचाउन गर्दै राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न नसकिने प्रष्ट पारेको छ। 

‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखा परेका छन्। बचतकर्ताहरूको अर्बौं रकम हिनामिना भएको छ। यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्छ। यस विषयमा पार्टी स्पष्ट छ। तर, निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन। हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरूलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन,’ प्रतिवेदनमा भनिएको छ।