सामुदायिक वनको काम तीन महिनादेखि ठप्प



राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको काम तीन महिनादेखि ठप्प भएको छ ।

समूहका अध्यक्ष जोगीलाल थारूले समूहको रकम व्यक्तिगत रूपमा चलाएपछि समूहको खाता सञ्चालन, कार्ययोजना, वन चौकीदारको पारिश्रमिक भुक्तानीलगायतका काम हुनसकेको छैन । विसं २०८० फागुन १० मा भएको उपभोक्ता समूहको साधारणसभाबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थारूले समूहको आम्दानी १० लाख नगद मौज्दात रहेको बताए पनि दुई महिना बित्दासम्म खातामा जम्मा नभएको कोषाध्यक्ष विनोदकुमार थारूले बताए ।


“अध्यक्षज्यूले आफ्नो मनोमानी तरिकाले समूहको पैसा नगद राखेर चलाउनुभएको छ, साधारणसभा भएको दुई महिना बित्दासमेत हिसाब बुझाउनुभएको छैन”, कोषाध्यक्ष थारूले भने, “अहिलेसम्म नयाँ कार्यसमितिको खातासमेत सञ्चालन हुनसकेको छैन ।”

समूहका सचिव शिला डाँगीले नयाँ कार्यसमितिले काम गर्न नपाउँदा उपभोक्ताका कामसमेत आफूहरूले गर्न नपाएको बताए । साधारणसभापछि समूहका दुईवटा बैठक बसे पनि अध्यक्ष थारूले समूहको आम्दानी जम्मा गर्न आनाकानी गरिरहेको उनले बताए ।

“साधारणसभामा एक हप्ताभित्र समूहको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको हो, तर दुई महिना बितिसक्यो हुनसकेको छैन”, सचिव डाँगीले भने, “समूहलाई अध्यक्षले नीति तथा विधानविपरीत मनोमानी सञ्चालन गर्दा समस्या आएको छ ।”

पछिल्लोपटक यही वैशाख ५ गते बसेको समूहको बैठकमा अध्यक्ष थारूले समूहको नगद आम्दानी बुझाउन असार मसान्तसम्मको समयसीमा माग गरेको सचिव डाँगीको भनाइ छ । समूहका अध्यक्ष थारूले दुःख बिरामी पर्दा सरसापट दिएको रुपैयाँ उठाउन नसकेकाले नगद मौज्दातको रकम जम्मा गर्न ढिलाइ भएको बताए ।

“पुरानो कार्यकालको आम्दानीको नगद मौज्दातबाट गाउँमा दुःख बिरामी पर्दा सरसापट दिएको पैसा उठेको छैन”, अध्यक्ष थारूले भने, “ १० लाखमा तीन लाख जति बैंकमा जम्मा गरेको छु, बाँकी रकमका लागि असार मसान्तसम्म समय माग गरेको छु ।”

अध्यक्ष थारूले समूहको नगद मौज्दात खातामा जम्मा नगरेपछि समूहका काम ठप्प भएको छ । वनका दुई चौकीदारले तीन महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । चौकीदार बेलबहादुर खत्रीले माघदेखि पारिश्रमिक पाउन नसकेको बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश सदस्य महेन्द्र शाहीले समूहको आम्दानी अध्यक्षले व्यक्तिगत रूपमा चलाउनु विधानविपरीत हुने बताए । समूहको खाताबाटै आर्थिक कारोबार गर्नुपर्ने उनको भनाइ छ । विसं २०५३ मा स्थापना भएको बागेश्वरी सामुदायिक वनमा हाल छ सय बढी उपभोक्ता छन् ।

तीन हजार हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि अग्निरेखा बनाउने कार्ययोजना भए पनि कार्यान्वयन हुनसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here