मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै



महोत्तरी । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।

यस  अवसरमा रामजानकी मन्दिरमा रामायण र  श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।


 भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात् मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ । महोत्तरीको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित  रामजानकी मन्दिरसहित यहाँका  बस्ती–बस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ । श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल  परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिँदै आइएको सन्तहरू बताउँछन् । 

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् । हिन्दु परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिँदै आइएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here