मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताएकी छन् । 

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उनले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित भएको बताइन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसकेका मनमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उनले बताइन् ।


उनले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताका लागि अनिवार्य रूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको उल्लेख गरिन् । ‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन,’ उनले भनिन्, ‘मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैं प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।’

मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमका रूपमा रहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘यस कदमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्याएको छ ।’

मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्मानमा थालनी गरिएको कार्यलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरिका ज्येष्ठ नागरिकले आफ्नो सच्चा मित्र र असल नेताका रूपमा सम्झन्छन् र सम्मान गर्ने बताइन् । 

अधिकारीले लामो र कठोर सङ्घर्षको घडीमा मात्र जनताको पक्षमा आवाज उठाउने र लडेको तथा प्रधानमन्त्रीका रूपमा उच्च पदमा आसीन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन नेकपा (एमाले)को नौ महिने सरकारको कुशलतापूर्वक नेतृत्व गरेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरिन् । 

विसं २०५१ मा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेको थियो । 

सन् १९४२ मा बनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका मनमोहन अधिकारी नेपाल फर्किएपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा मनमोहन अधिकारी क्रियाशील भएका थिए । 

जहानियाँ राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटकपटक गरी झण्डै १४ वर्ष लामो जेल जीवन बिताएका थिए । 

सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ विमोचन गरेकी थिइन् ।

मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी हुनुहुने ज्येष्ठ नागरिकलाई पूर्वराष्ट्रपति भण्डारीले माला लगाएर बिदाइ गरिन् । विसं १९७७ जेठ २८ गते जन्मिएका अधिकारी २०५६ वैशाख १३ आजैका दिन निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here