बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को



राँझा। रामनवमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले विगत १५ वर्षदेखि निरन्तर नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गरेका छन्। जिब्रो छेड्ने लाइनमा लागेका आधा दर्जन बढी युवालाई पछि पार्दै अनुभवी प्रजापतिले १५औँ पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको दर्शन गरे।


नेपाललगायत भारतका विभिन्न स्थानबाट चैतेदसैँ र विजयादशमीको रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा जिब्रो छेडेर दर्शन गर्ने परम्परा रहेको छ। नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताए।

महन्थ योगीले देवीको मन्दिरमा पशुबलि चढाउने परम्परा रहे पनि केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गरे। नवरात्रको व्रत बसेका व्रतालु पुरुष नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु ९त्रिशूल०ले छेड्ने परम्परा रहेको छ। हरेक वर्ष करिब एक सय ५० भन्दाबढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उनको भनाइ छ।

‘नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ’, उनले भने, ‘निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।’

नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्जनौँ व्यक्तिले जिब्रो छेडेका छन्। नेपालमात्रै होइन भारतबाट आएका भक्तजनलेसमेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन्। सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुसी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास रहेको छ। बागेश्वरी मन्दिरमा रामनवमीमा वर्षेनी दर्जनौँले जिब्रो चढाउने गर्दछन्। मन्दिर आएर जिब्रो छेडाउँदै जाने भएकाले कतिले छेडे भन्ने मन्दिर व्यवस्थापन समितिलाई यकीन हुने गरेको छैन।

यसैबीच रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ। टाढाटाढाबाट भक्तजन आएर पूजा गरेका छन्। भीडभाडमा कुनै किसिमको आपराधिक गतिविधि नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here