पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ । 

सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।


कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको निर्देशनअनुसार दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि प्राविधिक नापजाँच गरी लागत अनुमानको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताए ।

लागत अनुमानसहितको विवरण पेस गरेर आगामी आर्थिक वर्षको योजनामा बजेटको सुनिश्चितता गरिने पौडेलको भनाइ छ । 

विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढीले बस्ती कटान गरेपछि भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि स्थानीयले तटबन्ध निर्माणको माग गर्दै आएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिलेसमेत चाखोला तथा दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोसी नदीमा तटबन्ध गर्न प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसताका बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पाँच सय ५१ घर बगाएको थियो । 

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचनामा क्षति पुराउनुका साथै पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो । बाढीले २६ जनाको ज्यान गएको थियो । 

दोलालघाटको पुल हुँदै चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here