धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै



धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ ।

अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए ।


प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए। ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानीको अभाव भएको छ ।

चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई विगत एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले जानकारी दिए । नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि बारुणयन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए ।

उनले पानीको दीर्घकालीन समस्या समाधानमा समेत नगरपालिका जुटेको सुनाए । प्रमुख यादवले भने, “हरिहपुर दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युवेल सञ्चालनमा ल्याउन मर्मत सम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा रु बीस लाखको लागतमा एक थान नयाँ डिप ट्युवेल र तीन वटा इनार खन्ने योजना बनाएर काम भइरहेको छ ।”

त्यसैगरी, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि रु २० लाखको लागतमा नयाँ डिप ट्युवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले बताए।

हरिहरपुरका युवा विनोद यादवले जमिनमुनि पानीको जलस्तर तलहुँदै गएकाले पानीका स्रोत सुकेको बताए । उनले विगत केही वर्षदेखि सुख्खायाम सुरु भएसँगै यस क्षेत्रमा पानीका स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायको खोजीमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकल लगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ ।