बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड



काठमाडौं । बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् । 

गैरसरकारी संस्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिएको हो ।


कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरुरी रहेको बताए ।  उनले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिएको थियो । 

सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनीकरणका लागि थप क्रियाशीलताको खाँचो औंल्याए । ‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुख समेत रहेका भट्टले भने,“समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।” 

सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिकाका भयावह अवस्था रहेको र त्यस विरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताए । 

कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत  छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गरे ।