चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण



भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ ।

चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण सुरु गरिएको हो ।


गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा ९ कोठे विद्यालय भवनको शुक्रबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँको शैक्षिक उन्नयनका निम्ति आफू प्रतिबद्ध रहेको बताए ।

उनले विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्वीकृतिको लागि प्रक्रिया प्रारम्भ भएको बताए । कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन सय एक विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताए ।

उनले कालिका नगरपालिका–१० बाट यहाँ चेपाङ बालबालिका अध्ययनका लागि आउने गरेको बताए । ‘बालबालिकालाई डेढ–दुई घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ’, उनले भने, ‘यहाँ आवासीय विद्यालय बनाउन आवश्यक छ ।’

यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले ५ कक्षा पढेर पढाइ छाड्ने गरेको उनले बताए । कक्षा ८ उत्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन् ।

‘चेपाङ बस्तीमा यो समस्या विकराल छ’, उनले भने, ‘कक्षा ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी ९ कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानुपर्ने बाध्यता छ ।’

पालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरी ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यालयमा ६ कक्षा माथिका बालबालिकालाई आवासीय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको बताए ।

उनले यो वडामा रहेका सबै बालबालिकालाई सरकारले दिएको दिवा खाजाको बजेट थप गरेर पेटभरि दिवा खाजा खुवाउने योजना अघि बढाइएको जानकारी दिए । सरकारले दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here