गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश विजयी



काठमाडौँ । राजधानीमा जारी वीर गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराउँदै विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ४० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए ।


बलिङतर्फ मधेश प्रदेशका प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो । मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे ।

कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक/एक विकेट लिए । यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अङ्क बटुलेको छ ।

पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here