काठमाडौं आइपुगे कतारका अमिर



काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका  छन्।  दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार अपरान्ह  पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा थानी नेपाल आएका हुन्। कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी आज नेपाल आइपुगेका हुन्। अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । 


अरब मुलुकबाट नेपालमा भएको यो अहिलेसम्मको उच्चस्तरको भ्रमण हो। कतारबाट यसअघि केही मन्त्रीहरू नेपाल भ्रमणमा आएका थिए। अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण भने गरेका थिएनन्। नेपालबाट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिकमा कतारको भ्रमण गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। थानीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता भेटवार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी सरकारले गरेको छ। चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो।

मन्त्रालयका अनुसार अल थानीको भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ। १९ वर्षअघि सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो।

थानीको भ्रमणको क्रममा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्ब बराबरको सहयोगको सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ। यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो। मन्त्रालयका उच्च अधिकारीका अनुसार थानीको भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी भएको छ। 

अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन्। उनी यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन्। उनले कतारका विभिन्न सरकारी पदहरूको जिम्मेवारी सम्हालिसकेका छन्। खेल र स्वस्थ जीवनको बढावा दिन उनले भूमिका निर्वाह गर्दै आएका छन्। दुई दिने भ्रमण सकेर उनी बुधबार फर्कनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here