सुदूरपश्चिम प्रदेश : माओवादीका ३ मन्त्रीपछि समाजवादीका मन्त्री शाही पनि बर्खास्त



धनगढी ।  नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन्। आज (बिहीबार) बिहान मुख्यन्त्री शाहले मन्त्री शाहलाई हटाएर प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत गराइसकेका छन्।

शाही नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री थिए। मंगलबार मात्रै मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका २ जना मन्त्री र एक जना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए। 


नेकपा एकीकृत समाजवादी पार्टीले केहीबेरमा मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन। समाजवादीले साढे १० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। आफ्नै क्याबिनेटका मन्त्री हटाएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने निश्चित भएको छ।