विभिन्न अन्तरसंवादसँगै सकियो ‘इलाम साहित्य महोत्सव’



फिक्कल (इलाम) । इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सञ्चालित दुईदिने साहित्य महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे एकै थलोमा अन्तरसंवाद भएको थियो । महोत्सवमा शनिबारको अन्तिम सेसनमा ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस भएको थियो । ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच बहस भयो भने ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस भयो ।


‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाबीच संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङले बहस गरे । त्यस्तै, ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबीच बहस ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीबीच बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस भयो ।

यसअघि शुक्रबार पनि नौवटा विषयमा बहस भएको थियो । उद्घाटनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘नेपालको संरचनागत सङ्कट र दिगो समाधान’ विषयमा सम्भाषण दिएका थिए । सोही दिन ‘सङ्घीयताः यस्तै वा कस्तो ?’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाबीच बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबीच बहस र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतबीच बहस भएको थियो ।

त्यसैगरी ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णिम वाग्लेको प्रस्तुति थियो भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस भएको थियो । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ भएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, चिन्तक, लेखक, राजनीतिकर्मी, कलाकारलगायत दुई सयभन्दा बढीको सहभागिता थियो । इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।