रूकुम पश्चिम । रूकुम पश्चिमको आठबिसकोटस्थित प्रभु बैंकका अपरेसन इन्चार्ज निरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ ।
प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले मंगलबार जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिएका छन् ।
बैंकका कर्णाली प्रदेश इञ्चार्ज तिमिल्सिनाले तीन वटा चेक बराबरको एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा आफूले प्रहरीमा गई शाहविरूद्ध मंगलबार उजुरी दिएको बताएका छन् ।
बैंकका प्रदेश इन्चार्ज तिमिल्सिनाले अन्य कुराहरू मिहीन ढंगले अनुसन्धान गर्न भने बाँकी नै रहेको र त्यसका लागि थप केही समय लाग्ने हुँदा कसरी शाहले बदामासी गरेका रहेछन् भन्ने आधार फेला पर्ने बताए । बैंकका प्रदेश इन्चार्ज तिमिल्सिना नेतृत्वको टोलीले घटनाबारे आन्तरिक रूपमा अनुसन्धान गर्दै आएको छ।