नल्भानीकी आमाको रिट दर्ता गर्न अस्वीकार



रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका नभाल्नीले जेलमा पर्याप्त चिकित्सा सेवा नपाएको र उनको मृत्यु भएको उनकी आमाले आरोप लगाएको अल जजिराले उल्लेख गरेको छ ।

नाभाल्नीले सुरु गरेको भ्रष्टाचार विरोधी फाउन्डेसनका प्रमुख इभान झदानोभले बिहीबार लाबिटनाङ्गी सहरको अदालतले नाल्भानीले मात्रै उजुरी गर्न सक्ने भन्दै मुद्दा अस्वीकार गरिएको बताए ।


नाभाल्नीको परिवार र समर्थकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनको हत्या गरेको आरोप लगाएका छन् । क्रेमलिनले आरोप अस्वीकार गरेको छ । नाभाल्नीकी विधवा युलिया नाभाल्नायाले अदालतले मुद्दा अस्वीकार गरेको पुष्टि गरेकी छन् ।

रूसी जेल अधिकारीहरूले क्रेमलिन आलोचक बेहोस भएको र फेब्रुअरी १६ मा ‘पोलर वुल्फ’ जेल बाहिर हिँडेपछि उहाँको मृत्यु भएको दाबी गरेका छन् । तीन दशकको सजाय भोगिरहेका नाभाल्नीको मृत्यु प्रमाण–पत्रमा उहाँको मृत्यु ‘प्राकृतिक कारण’ बाट भएको उल्लेख छ ।