तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द, ११७ अंकको वृद्धि !



काठमाडौं । सेयर कारोबार सोमबारका लागि बन्द भएको छ ।  तेस्रो सर्किट लागेपछि कारोबार दिनभरका लागि बन्द भएको हो । कारोबारमा आएका दुई बाहेक सबै कम्पनीको मूल्य बढेपछि नेप्से १ घन्टा ४ मिनेटमै बन्द भएको हो ।

दोस्रो सर्किट ब्रेक लागेर खुलेको १ मिनेटमै तेस्रो सर्किट लागेको थियो। यसअघि ३ मिनेटमै पहिलो सर्किट लागेको थियो भने कारोबार खुलेको केही सेकेन्डमै दोस्रो सर्किट लागेको  थियो ।


कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ । यसैगरी पहिलो सर्किट लागेर खुलेपछि दोस्रो सर्किट लाग्न उल्लेखित प्रतिशतको घटबढ आवश्यक रहन्छ । पहिलो सर्किट लागेपछि २० मिनेट, दोस्रो सर्किट लागेपछि ४० मिनेट र तेस्रो सर्किटपछि  सो दिनका लागि कारोबार बन्द हुन्छ ।

सोमबार १ घन्टा ४ मिनेटमा नेप्से ११७.७० अंकले बढ्दा २ सय ३० कम्पनीको सेयर मूल्य बढेका छन् भने २ वटाको घटेका छन् । ग्लोबल आईएमई लघुवित्त र गणपति लघुवित्तको भने मूल्य घटेको हो । यस अवधिमा ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रूपैयाँको सेयर किनबेच भयो । 

संघीय सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत बजारले रुचाएका व्यक्ति होइनन् । उनी फेरिने निश्चित भएसँगै लगानीकर्ता खुसी देखिएका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका छन्। नयाँ सत्ता समीकरणमा एमाले,माओवादी,राप्रपा र जसपालगायत दलहरू छन्।