अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन



कडुना (नाइजेरिया) । दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा बढी नाइजेरियाली स्कुले बालबालिकाका अभिभावकहरूले बुधबार पुनर्मिलनको समयमा खुसीका आँशु रोक्न नसकेको बताएका छन् ।

बच्चाहरू मुक्त भएको तीन दिनपछि कडुना शहरमा सरकारले व्यवस्था गरेको कार्यक्रममा अभिभावकसँग पुनर्मिलन गराइएको थियो । उक्त स्थानमा बच्चाहरूलाई चिकित्सा सहायता सहित राखिएको थियो ।


गत मार्च ७ यता पहिलो पटक भेट हुँदा अभिभावकहरुले आफ्ना बच्चाहरुलाई अश्रुपुरित अङ्कमाल गरेका थिए । कडुनाको उत्तरपश्चिमी दुर्गम शहर कुरिगामाबाट मोटरसाइकलमा आएका बन्दुकधारीले ती बालबालिकालाई बन्दुकको नालको त्रासमा विद्यालयबाट अपहरण गरेका थिए ।

“म आज निकै हर्षित र खुसी भएकी छु,” अपहरणमा परेकी आफ्नी १४ वर्षीया छोरीलाई भेटेपछि शिटु अब्दुल्लाहीले निकै उत्साही हुँदै भने ।

दश देखि १५ वर्षसम्मका ती बालबालिकालाई कहिले घर जान अनुमति दिइने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । अभिभावकहरूले भने सरकारले यो हप्ताभित्रै घर पठाउने आश्वासन दिएको बताएका छन् ।

अपहरणकारीले विद्यार्थीसँगै लगिएका एकजना कर्मचारीको बन्दी अवस्थामै मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन् ।

एक अभिभावक इब्राहिम मिकालुले आफ्नी १३ वर्षीया छोरीलाई भेटेपछि आफू भावुक भएको र परिवारका बाँकी सदस्य उनलाई घरमै हेर्न उत्सुक रहेको बताए ।

छिमेकी जाम्फरा राज्यको उत्तरमा करिब दुई सय किलोमिटर टाढाको जङ्गलबाट आइतबार नाइजेरियाली सेनाले ती स्कुले बालबालिकालाई मुक्त गरेको थियो । उनीहरुले अहिले सेना र सरकारले व्यवस्था गरेको औषधि उपचार प्राप्त गरिरहेका छन् ।

अधिकारीहरूले कुरिगाका बच्चाहरूको मुक्तिका लागि कुनै फिरौती नदिएको बताएका छन् ।

हालसम्म कुनै पनि समूहले उनीहरूको अपहरणको जिम्मेवारी लिएको छैन । स्थानीय अधिकारीहरूले द्वन्द्वग्रस्त उत्तरमा सामूहिक हत्या र फिरौतीका लागि डाकु समूहहरूले घटना घटाएको आङ्कलन गरेका छन् ।

सन् २०१४ मा नाइजेरियाको बोर्नो राज्यको चिबोक गाउँमा बोको हराम समूहका लडाकुले दुई सय ६७ जना स्कुले छात्रा अपहरण गरेयता नाइजेरियाका विद्यालयहरुबाट कम्तीमा १४ सय विद्यार्थी अपहरण भइसकेका छन् । पछिल्लो समयमा अपहरणका घटनाहरु द्वन्द्वग्रस्त उत्तर–पश्चिम र मध्य क्षेत्रहरूमा केन्द्रित छन्, जहाँ दर्जनौँ सशस्त्र समूहहरूले गाउँले र अन्य यात्रुहरूलाई फिरौतीका लागि अपहरण गर्ने गर्छन् ।