सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो १० सदस्यीय संयन्त्र



काठमाडौं । सरकारमा सहभागी ५ राजनीतिक दलहरुले न्युनतम साझा कार्यक्रम तय गर्न १० सदस्यीय संयन्त्र बनाएका छन् । प्रत्येक दलबाट समान २ जना रहनेगरी १० जनाको संयन्त्र बनाईएको हो ।

उक्त टिममा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।


उक्त टोलीले सबै दलबाट आएको सुझावलाई समेटेर कार्यक्रमको मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता रिमाललाई दिईएको छ । संयन्त्रको बैठक आज सिंहदरबारमा बसेको थियो । आज बसेको पहिलो बैठकले रिमाललाई सो जिम्मेवारी दिईएको हो ।

सरकारका कार्यलाई प्रभावकारी बनाउनका लागि आवश्यक प्राथमिकताका विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार गर्नेछ । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरु र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । बैठक मंगलबार पुन बस्ने भएको छ ।