वीरगञ्जमा बेलुका १० बजेसम्म कर्फ्यु हटाइयो



वीरगञ्ज । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको कर्फ्यु स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको कर्फ्यु आज बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मा लागि स्थगित गरेको हो । सर्वसाधारणको सहजताका लागि आज बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मका लागि स्थगित गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् ।


स्थानीय प्रशासनले यसअघि आजै बिहान ६ बजेदेखि ११ बजेसम्मका लागि निषेधात्रा खुकुलो बनाउने निर्णय गरेको थियो । वीरगञ्जको अहिलेसम्मको अवस्था समान्य छ ।

रौतहटको इशनाथ नगरपालिकामा हिन्दू समाजले गत सोमबार बीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुईपक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।