सेन्चुरी बैंक घोटाला प्रकरण : यी हुन् पक्राउ परेका ११ कर्मचारी



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साविकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

कमसल धितोमा कर्जा प्रवाह गरेर नागरिकको रकम हिनामिना गरेको आरोपमा सीआईबीले मंगलबार हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमण श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् ।

त्यस्तै यो प्रकरणमा मुछिएकी कर्मचारी सन्ध्या श्रेष्ठलाई प्रहरीले निगरानीमा राखेको छ । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिए पनि उपचारका क्रममा रहेकाले पक्राउ नगरी निगरानीमा राखेको हो । तीमध्ये ४ जना बहालवाला र बाँकी ७ जना भर्खर अवकाशप्राप्त कर्मचारी हुन् ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी होविन्द्र बोगटीले धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न ११ जनालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

उनका अनुसार ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थासँग आबद्ध सञ्चालक समितिका पदाधिकारी तथा उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र ती कम्पनीलाई तत्कालीन सेञ्चुरी बैंकबाट प्रवाह गरेको ऋणको धितोका विषयमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।

उक्त सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंलाई प्रहरीले यसअघि नै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । सहकारीमा सर्वसाधारणको ३ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

चौलागाईंसँग बयानका क्रममा तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने चौलागाईं र उनीसमेत आबद्ध कम्पनीहरू पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीलाई समेत कर्जा प्रवाह गर्दा बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपैयाँ रहेको र त्यसबापत दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपैयाँ कर्जा प्रवाह भएको छ ।