काठमाडौं । रुसले युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसले राजदूतावासमार्फत राहत पठाउने भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने जानकारी दिए । उनले यस विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताए । त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित परिवारलाई राहत रकम दिने उनले बताए ।
यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गरेको थियो ।
अरु देशमा ज्यान गुमाउने नेपालीको परिवारलाई पनि सम्बन्धित देशका नेपाली दूतावासमार्फत नै राहत दिने गरिएको जानकारी गराएपछि रुस पनि तयार भएको हो । यद्यपी दूतावासमार्फत राहत रकम पठाउन रुसी सरकार तयार भए पनि यो रकम कहिले पठाउँछ भन्ने टुंगो छैन ।