माधव नेपालले अब जिन्दगीमा कहिल्यै चुनाव जित्दैनन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एसका अध्यक्ष नेपालले पटक पटक मधेशलाई धोका दिएको दाबी गर्दै अब कुनैपनि हालतमा जनताले भोट दिएर चुनाव जिताउन नहुने बताए ।


‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’

रौतहट एकीकृत समाजवादीका अध्यष तथा पूर्व प्रधानमन्त्रीसमेत रहका नेपालको गृहजिल्ला हो । ओलीलाई रौतहटमा जनताले न्यानो स्वागत गर्दै १०१ किलोको मालाले स्वागत गरेका थिए । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन गरेका नेपालसँग ओलीको सम्बन्ध तिक्ततापूर्ण रहेको छ । पार्टी विभाजनपछि ओली पहिलो पटक रौतहट पुगेका हुन् ।

‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ अध्यक्ष ओलीले नेपालको नाम लिँदै भने, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवैचिज गर्‍यौ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’