पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव



पर्वत । पर्वतमा ‘तेस्रो राष्ट्रिय मगर महोत्सव’ मङ्गलबारदेखि सुरु भएको छ । ४२औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लब पर्वतले महोत्सव आयोजना गरेको हो ।

यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका छन् ।


महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था विस्तारै सुधार हुँदै जाने दाबी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै उनले विस्तारै अर्थतन्त्र चलायमान हसँदै गएकाले आर्थिक अवस्था पनि सुधार हुँदै जाने बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीले विश्वका विकसित देशहरु पनि आर्थिक सङ्कटपछि विकासको चरम गतिमा अघि बढेका भन्दै नेपाल पनि अब आर्थिक हिसाबले समृद्ध बन्दै जाने बताए । सबै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने उनको भनाइ थियो ।

“मुलुकमा सङ्कट आइपरेका बेला सबै दलहरु एकजुट हुन आवश्यक छ । अहिलेको आर्थिको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने हुन्छ । देशका सबै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने समय आएको छ”, सांसद गिरीले भने ।

मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्न उनले आग्रहसमेत गरे ।

महोत्सवमा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका दुई सय २० स्टल राखिएका छन् । महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई रु एक सय, विद्यार्थीका लागि ६० को टिकट र वृद्धका लागि निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० भन्दाबढी कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव उद्घाटन पूर्व कुश्मा बजारमा विभिन्न जातजाति, समुदाय र संस्कृतिका भेषभूषासहित ¥याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूलनाराका साथ सुरु गरिएको महोत्सवमा मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृर्तीय पुरस्कार क्रमशः दुई लाख दुई हजार दुई सय २२, एक लाख एक हजार एक सय ११ र ५० हजार एक हजार ११ रहेको छ ।

त्यस्तै, पालिकास्तरीय विभिन्न प्रतियोगिताअन्तर्गत महिला भलिबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजन प्रतियोगिता आकर्षणको रुपमा रहेका छन् ।

महोत्सवमा ५५ लाख खर्च र ७५ लाख आम्दानी हुने अपेक्षा गरिएको आर्थिक संयोजक गणेश पुनले जानकारी दिए । उनका अनुसार मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुतिसमेत रहने छन् ।

बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।