काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र ‘धम्मासय’ को आज उद्घाटन गरेका छन् ।
कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो ।
ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए । आफुलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए ।
अग्रज रुपचन्द्र बिष्टले आफुसँगको कुराकानीमा ‘मानिसहरू सिद्दार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफुलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए । कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफुले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए ।
कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए । केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझेकैले नक्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको बताए ।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो ।